बाबुले चलाएको ट्रकले किच्दा ३ वर्षीया छोरीको मृत्यु
थानकोट ।
काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ ।
बनेपा नगरपालिका वडा नम्बर– ४ मा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी छोरीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड्काले जानकारी दिए ।
सो गाडी उनका बाबु सरोज बरालले चलाइहरेका थिए ।
सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर–१ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरीलाई किचेको थियो ।
ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।


















