नागढुङ्गादेखि पिपलामोडसम्म सडक पेटी नहुँदा हिँड्न समस्या भएको स्थानीयको गुनासो

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गादेखि पिपलामोडसम्मको क्षेत्रमा सडक पेटी नभएको भन्दै स्थानीयले सो क्षेत्रको सडक स्तरोन्नति भइरहँदा सडक पेटी (फुटपाथ) बनाउन अनुरोध गरेका छन् ।

नागढ्रङ्गा-नाैबिसे-मुग्लिन सडक निर्माण आयोजनालाई आइतबार एक पत्र लेख्दै स्थानीय बासीले हाल सो सडकको स्तरोन्नतिको कार्य भइरहेकोले सडकमा पैदल यात्रीहरूका लागि सडक पेटीको माग गरेका हुन् ।

साथै, उनीहरूले सडकको नाली बाङ्गोटिङ्गो भएकोले पानी सहज रुपमा तर्कन नपाउँदा भुक्षय हुने जोखिम बढेको भन्दै नालीको निर्माणमा विशेष ध्यान दिन समेत सडक आययोजनासँग अनुरोध गरेका छन् ।

सो सडक खण्डको दुवैतर्फ सडक पेटी नहुँदा पैदलयात्रीले जोखिमपूर्ण रुपमा यात्रा गर्न परेको भन्दै उनीहरूले सम्भव भएसम्म दुवै तर्फ नभए एकतर्फ मात्रै भएपनि सडक पेटीको व्यवस्था गर्न आयोजनासँग माग गरेका हुन् ।

पिपलामोडदेखि नागढुङ्गासम्म पैदल हिँड्न पेटी छैन्, स्थानीयले दैनिक रुपमा जोखिमपूर्ण रुपमा सडक प्रयोग गर्न परेको छ, साबिक वाडभञ्ज्याङ गाविसका पूर्व अध्यक्ष एवं राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेक बहादुर पोखरेलले भने ।

हाल सो सडक रातको समयमा दैनिक ४ घण्टा बन्द गरि मर्मतको कार्य जारी छ ।

स्थानीय नागस्थान क्षेत्र गत असोज महिनामा गएको पहिरोले सडक करिब १२ घण्टा अवरुद्ध भएको थियो भने पिपलामोड नजिकै झ्याप्लेखोलामा लेदोसहितको भेलले दर्जनाै सवारीसाधनमा क्षति पुगेको थियो भने ३६ जनाको ज्यान गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *