आजबाट चन्द्रागिरिमा जेसिसको क्षेत्रीय सम्मेलन सुरु हुँदै, देशभरबाट ६०० जना युवाहरु सहभागी हुँदै

Thankot Times

थानकोट ।

थानकोट जेसिसको व्यवस्थापनमा आजबाट चन्द्रागिरि नगरपालिकामा नेपाल जेसिसको क्षेत्र ग को राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । 

चेकपोष्टस्थित ग्रीनल्याण्ड ब्वैङ्केटमा सुरु हुने दुइ दिने सम्मेलनको अन्तिम तयारी पूरा भएको सम्मेलन निर्देशक एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं कोषाध्यक्ष तथा हालका सल्लाहकार मोहनलाल डाँगीले जानकारी दिए ।

सम्मेलनमा देशभरका १८ देखी ४० वर्ष उमेर समुहका करिब ६ सय जना प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । 

विभिन्न सत्रमा विभाजन गरिएको सम्मेलनको पहिलो दिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिहान ११ बजे उद्घाटन गर्ने तालिका निर्धारण गरिएको छ । यस्तै, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र थाहा नगरपालिकाका मेयर तथा उपमेयर विशेष अतिथिका रुपमा निम्त्याइने बताइएको छ ।

‘राम्रो भोलिका लागि सँगसँगै उठाैं’ नारा दिइएको यसवर्षको सम्मेलनको पहिलो दिन हुने विषगत नाराको प्यानल डीस्कशनमा संविधानविद् डा. भिमार्जुन आचार्य, कलाकार दिपकराज गिरी र ई-गर्भनेनसका प्रमुख कार्यकारी अधिकृत दिपक विष्ट प्रमुख वक्ताका रुपमा रहने थानकोट जेसिसका अध्यक्ष विराज शाहीको भनाइ छ ।

गत वर्ष कीर्तिपुरमा सम्पन्न जेसिसको सम्मेलनमा थानकोट जेसिसले यस वर्षको सम्मेलन संयोजन गर्न दाबी पेश गरेकोमा सो स्वीकृत भएपछि थानकोट जेसिसले पहिलोपटक क्षेत्रगत सम्मेलन गर्ने जमर्को गरेको हो । यो सम्मेलनले अर्को वर्षका लागि सम्मेलन आयोजना गर्न स्थान र मिति समेत चयन गर्ने बताइएको छ ।

दुइ दिने सम्मेलनलाई यादगार बनाउन हामीले स्थानीय पर्यटन र संस्कृतिलाई समेत सँगसँगै लैजाने योजना बनाएका छाैं, मंगलबार आयोजित पत्रकार सम्मेलनमा जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटाले भने । उनका अनुसार सहभागीलाई चन्द्रागिरि क्षेत्रको सम्पदा पद यात्रामा समेत सहभागी गराइने तालिका रहेको छ । चन्द्रागिरि हाइकर्स कम्युनिटीले सो कार्यमा जेसिससँग सहकार्य गर्ने कम्युनिटीका अध्यक्ष प्रशन्नमान गोपालीले जानकारी दिए ।

यस सम्मेलनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको नेपाल जेसिसकी राष्ट्रिय अध्यक्ष रजनी थापाको भनाइ छ ।

सो रकम सहभागीबाट प्राप्त हुने रजिष्ट्रेशन शुल्क, विभिन्न संघसंस्थाबाट प्राप्त हुने सहयोग र आयोजकबाट व्यवस्थापन हुने बताइएको छ । सम्मेलनमा सहभागीका हुन चाहनेहरूले प्रति व्यक्ति ६ हजार चार सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । सो शुल्कमा सम्मेलन अवधिभरका लागि खाना र आवास र विभिन्न सेसनमा सहभागी हुन पाइनेछ ।

तर, कुनै निश्चित सेसनका लागि सहभागी हुन चाहनेहरूले प्रति व्यक्ति १ हजार पाँच सय रुपैयाँ तिरेर पनि सहभागी हुन सक्ने व्यवस्था मिलाइएको थानकोट जेसिसले जनाएको छ । सम्मेलन अवधिभर सहभागीहरूलाई चन्द्रागिरि नगर क्षेत्रमै बस्ने व्यवस्था गरिएको छ ।

सहभागीहरूले सम्मेलनका क्रममा चन्द्रागिरि डाँडास्थित भालेश्वर मन्दिर क्षेत्र वा दहचोकस्थित काज कालुपाँडे समाधिस्थल मध्ये एक स्थानमा भ्रमण समेत गर्न सक्ने गरि समन्वय भइरहेको आयोजकको भनाइ छ । 

सम्मेलनस्थल हातामा स्थानीय उत्पादन एवं विभिन्न सेवा तथा वस्तुको प्रदर्शनी एवं बिक्री केन्द्र समेत राखिनेछ ।

सम्मेलनमा थानकोट जेसिस स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा शोणितपुर दर्पण स्मारिका समेत लोकार्पणको तयारी गरिएको थानकोट जेसिसका पूर्व अध्यक्ष नन्ददास अमात्यले जानकारी दिए ।

थानकोट जुनियर जेसिसले समेत सम्मेलन सम्पन्न गर्न विशेष भूमिका निभाउने छ ।

नेपाल जेसिसको स्थापना १९७० को दशकमा भएको हो र यसको मुख्य उद्देश्य युवाहरूलाई समाजसेवामार्फत् व्यक्तित्व विकास, नेतृत्व क्षमता, र उद्यमशीलताको विकास गर्न सहयोग गर्नु हो। नेपालमा रहेका जेसिस संस्थाहरूलाई क, ख, ग र घ क्षेत्रमा विभाजन गरिएका छन् । ग क्षेत्रमा बागमती प्रदेशका सबै जिल्ला समेटिएका छन् । जहाँ ३८ शाखा रहेका छन् ।

सदस्यहरूलाई व्यावसायिक सम्बन्ध विस्तार र व्यवसायिक तालिममा सहभागी गराउने काम पनि जेसिसले गर्दै आएको छ।

नेपाल जेसिसका सदस्यहरूले विश्वभरका जेसिस सदस्यहरूसँग सम्बन्ध विस्तार गर्न र अनुभव आदान–प्रदान गर्न सक्ने अवसर पाउँछन्।

नेपाल जेसिसका देशभर करिब १०० भन्दा बढी स्थानीय शाखाहरू छन्, जसले आफ्नो क्षेत्र अनुसार कार्यक्रम सञ्चालन गर्दछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *