थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धार आजदेखि, झिंगटी हटाएर सुनाैलो धातुले छाना छाइने

Thankot Times

थानकोट ।

थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धारको कार्य आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ ।

मन्दिर जिर्णोद्धार कार्य सुरु गर्नुअघि स्थानीयले हिजो (शनिबार) यहाँ क्षमापूजा गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाले उक्त मन्दिर जिर्णोद्धार तथा मन्दिर क्षेत्रको स्तरोन्नतिका लागि बोलपत्र माग गरेकोमा सोही स्वीकृतका आधारमा मन्दिर क्षेत्रको स्तरोन्नति सुरु हुन लागेको हो ।

सो कार्यका लागि सुमार्ग कन्सट्रक्सन तथा सप्लायर्सले १ करोड १० लाख ५० हजार ६ सय ११ रुपैयाँ ४३ पैसामा बोलपत्र कबोल गरेको चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए ।

सो रकम करसहितको रहेको बताइएको छ ।

नगरप्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार मन्दिर क्षेत्र स्तरोन्नतिअन्तर्गत मन्दिर परिसरमा रहेको फल्चा पुनःनिर्माण, भुँइमा डाँछी इटा राख्ने र मन्दिर परिसरमा ढुङ्गाको पिलरमा घण्टा राख्ने लगायतका कार्य हुनेछन् । यसैगरी मन्दिरको छानामा हाल रहेको झिंगटी हटाएर तामाको छाना राखिने र सो मा सुनौलो रङ पोत्ने योजना रहको छ । यी कार्य यही मंसिरमसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ईञ्जिनियर हेमन्त महर्जनले जानकारी दिए ।

थानकोट महालक्ष्मी मन्दिर चन्द्रागिरि नगरपालिका वडा नं. ४ (शोणितपुर) मा रहेको एक ऐतिहासिक र पुरातात्विक सम्पदा हो।

काठमाडौं उपत्यकाका अष्टमहालक्ष्मीमध्ये यो एक प्रमुख मन्दिर मानिन्छ।

यस मन्दिर प्राङ्गणमा संवत ८०४ को शिलालेख पनि रहेको छ ।

कात्तिक-मंसिरमा धानबाली भित्र्याईसकेपछि थानकोटमा महालक्ष्मी जात्रा हुने गर्दछ, जसलाई थानकोटको सिन्दूरजात्रा पनि भनिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *