३५ करोडको लगानीमा चन्द्रागिरि नगरमा नयाँ विद्यालय सुरु हुँदै, को हुन लगानीकर्ता ?
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा करिब ३५ करोड रुपैयाँको लागतमा विद्यालय खुल्ने भएको छ ।
नगरको वडा नं ७ चेकपोष्टनजिकै एसभीएएन स्कुलको भवन बुधबार शिलान्यास गरिएको हो ।
सरस्वती विद्या आलोक निकेतन स्कुल (एसभीएएन) शिलान्यास कार्यक्रममा सो विद्यालयका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको विशेषता र भविष्यका योजनाहरू सार्वजनिक गर्दै एसभीएएन स्कुलको शैक्षिक परियोजनाले नेपालको शिक्षा क्षेत्रमा नवीन अभ्यासको थालनी हुने बताएका छन् ।
शाहीका अनुसार, विद्यालयको मुख्य भवन विद्यालयकै आफ्नै १० रोपनी जग्गामा निर्माण हुनेछ, जसको संरचना करिब ७४ हजार वर्ग फिटमा फैलिनेछ भने विद्यालयमा खेल मैदान, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र र अत्याधुनिक डिजिटल कक्षा कोठाहरू समावेश हुनेछन्।
साथै, विद्यालयको प्रारम्भिक योजना अन्तर्गत एक वर्षभित्रै कक्षा १ देखि १० सम्मको पठनपाठन सञ्चालन गरिनेछ । त्यस्तै, अर्को चरणमा कक्षा ११ र १२ मा अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमहरू, “ए”लेभल, ईन्टरनेसनल ब्याकलरिएट (आईबी) र फिनिस पाठ्यक्रम समावेश गरेर विद्यार्थीहरूलाई उच्च गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको बताइएको छ ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सो विद्यालय भवन शिलान्यास गरेका हुन् । सो क्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री राणा, सान ईन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत लगायतको सहभागिता रहेको थियो ।












