ब्लुबुक क्यूआर परीक्षणमा रहेकोले साउनसम्म कार्यान्वयनमा ल्याउने बागमती प्रदेशको तयारी
थानकोट ।
बागमती प्रदेश सरकारले क्यूआर ब्लुबुक प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नरहेको जनाएको छ ।
परीक्षणको प्रक्रिया जारी रहेको र क्यूआर लिएकाले पनि ब्लुबुक बोकर हिँड्नुपर्ने प्रदेश सरकारले जनाएको छ ।
“अहिले हाम्रो परीक्षण भइरहेको छ । त्यसकारण क्यूआरसँगै ब्लुबुकको हार्डकपी पनि बोकेर हिँड्नुपर्छ,” बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले भने, “साउनसम्ममा परीक्षण सकेर नागरिक एपमा पनि राख्ने तयारीमा छौँ ।”
यता, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरी ब्लुबुक क्यूआर प्रणालीको विषयमा थाहा नभएको बताउँछन् । “अहिलेसम्म हामीलाई जानकारीमा आएको छैन् । कारबाही गर्दा ब्लुबुकको हार्डकपी नै राख्ने गरेका छौँ,” उनले भने, “सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को हकमा भने नागरिक एपको स्क्यानबाट कारबाही गछौँ । यदि, सरकारले त्यस्तो कुनै सिस्टम बनाएको रहेछ भने त्यो हामीले कार्यान्वयनमा ल्याउनैपर्छ ।”
गएको वैशाखदेखि बागमती प्रदेश सरकारले ब्लुबुक क्यूआर प्रणाली सञ्चालनमा ल्याएको हो ।
यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ब्लुबुक बोक्ने झन्झटको अन्त्य हुने विश्वास लिइएको छ ।












