सम्झाैताअनुसार चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण सम्पन्न नभएपछि….

Thankot Times

थानकोट ।

ठ्याक्कै दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरि २०८० गत असार २० गते भएको चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण कार्य निर्धारित अवधिमा नटुंगिएपछि म्याद थपिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नंं ४ स्थित हाल सञ्चालनमा रहेको प्राथमिक अस्पताल हातामा २०८० माघ ३ गते नगरप्रमुख घनश्याम गिरीले ३ तल्ले अस्पताल भवनको शिलान्यास गरेका थिए । हाल १५ शैयाको अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि कूल ३० शैयाको हुने लक्ष्य लिइएको भएपनि निर्माणको जिम्मा पाएको पक्षले अनेक बहाना गर्दा अस्पतालको निर्माण अवधि थप गर्न परेको बताइएको छ ।

चन्द्रागिरि नगर प्राथमिक अस्पतालको स्तरोन्नति हुँदै, १५ शैया थपका लागि नयाँ भवनको शिलान्यास

मन्त्रीपरिषद्को गत २०७९ फाल्गुन ४ गतेको बैठकले २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै सोही सालको फागुन २१ गते चन्द्रागिरि नगरपालिकाले अस्पतालको निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

जसमा एम ए कन्सट्रक्सन छनोट भइ कार्य गर्न सहमत भएकोमा निर्माणस्थलमा खम्बा नसारिएको लगायतको विषय उठाएपछि सम्झाैता भएको करिब ६ महिनापछि मात्रै बल्ल अस्पताल भवन निर्माणको कार्य अघि बढेको थियो ।

एम ए कन्सट्रक्सन कम्पनीले करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैतीस पैसामा अस्पतालको भवन बनाउन पेश गरेको बोलपत्र स्वीकृत भएको थियो ।

चन्द्रागिरि नगरपालिकाले सो अस्पताल भवन निर्माणका लागि १ वर्ष थप गरिएको जनाएको छ ।

नगरप्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजना भएको स्वास्थ्य संस्था अवलोकनका क्रममा सो जानकारी दिएका हुन् । हाल सो अस्पतालको पहिलो तल्ला ढलानको तयारी भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *