चन्द्रागिरिमा पनि मनाइयो गुरु रिन्पोछेको जन्म दिवस, पानीघाट गुम्बामा पुगे शुभेच्छुकहरू
थानकोट ।
गुरु पद्मसंभव (गुरु रिन्पोछे) जन्म दिवस (छेच्यु) को अवसरमा सोमबार काठमाडाैंमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा काठमाडौँको बौद्ध महाचैत्यमा गुरु पद्मसंभवको अष्टलिला धार्मिक नृत्य प्रस्तुत गरिएको छ ।
हिमाली बौद्ध परम्परामा आचार्य पद्मसंभवलाई दोस्रो बुद्धका रूपमा मानिने परम्परा रहेको छ ।
गुरु पद्मसंभवको समयमा हिमाली क्षेत्रमा बौद्धधर्म नरहेको र मानिसहरू अशान्त, दानवी प्रवृत्ति रहेकोमा पद्मसंभवले विभिन्न आठ वटा रूप प्रदर्शन गरी सामाजिक जीवन प्रधान गरेको हुनाले अष्टलिला धार्मिक नृत्य सुरु गरिएको बताइन्छ ।
गुरु पद्मसंभवको पहिलो जन्ममा उनी र उनका दाजुभाइहरूले बौद्ध महाचैत्यको निर्माण गरेको बताइन्छ । त्यस कारण पनि गुरु पद्मसंभवको बौद्ध महाचैत्यसँग गहिरो सम्बन्ध रहेको बताइन्छ ।
यस्तै, चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित पानीघाटस्थित पेमा ठिन्ले रबग्येलिङ गुम्बामा सोमबार प्रार्थना सभा आयोजना भएको छ । जसमा नगरप्रमुख घनश्याम गिरी, नगरप्रवक्ता एवं सो वडाका वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत गुम्बा पुगेर प्रार्थना सभामा सामेल भएका थिए ।












