चन्द्रागिरि नगरमा असोज मसान्तभित्र कर बुझाएमा २५ प्रतिशत छुट पाइने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा चालु आर्थिक वर्ष (२०८३/०८४) का लागि बुझाउनुपर्ने कर तथा बक्यौता रकम यही असोज मसान्तभित्र बुझाएमा एकमुष्ट छुट दिने भएको छ ।
नगरको आर्थिक ऐन, २०८३ को अनुसूची-१२ बमोजिम चालु आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र अर्थात असोज मसान्तसम्म सम्पत्ति कर, भूमिकर (मालपोत), व्यवसाय कर तथा घरजग्गा बहाल कर बुझाएमा करको कुल रकममा २५ प्रतिशत छुट पाइने व्यवस्था छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीका अनुसार तोकिएको समयभित्र कर बुझाउने करदाताले आफ्नो कर दायित्वमा लाग्ने रकममा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी विगतदेखि नै नियमित रूपमा सम्पत्ति कर, भूमिकर (मालपोत), व्यवसाय कर तथा घरजग्गा बहाल कर नबुझाई बक्यौता रहेका करदाताका लागि पनि नगरपालिकाले विशेष छुटको व्यवस्था गरेको छ ।
असोज मसान्तभित्र बक्यौता रकममा लाग्ने दण्ड तथा जरिवानामा शतप्रतिशत छुट प्रदान गरिने नगरपालिकाले जनाएको छ ।














