वनस्थलीबाट १६ लाख बराबरको धनमाल चोरी
थानकोट ।
काठमाडौँ महानगरपालिका–१६ स्थित वनस्थलीमा मंगलबार दिउँसो डेरा कोठाबाट ठूलो परिमाणको धनमाल चोरी भएको छ।
चोरीमा परेकामध्ये मोरङको धनपालथान गाउँपालिका–५ घर भई हाल डेरा गरी बस्दै आएकी ३८ वर्षीया सृजना तिवारी र महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएकी ५१ वर्षीया बबिता वैदे रहेका छन्।
नेपाल प्रहरीका अनुसार उनीहरूको कोठाबाट नगद र विभिन्न सुनचाँदीका गरगहना गरी अनुमानित १६ लाख १७ हजार ९ सय ४६ रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको हो।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। प्रहरीका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान पनि भइरहेको छ।












