आज पनि ठूलो पानी पर्ने सम्भावना
थानकोट ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कर्णाली प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति पनि दिउँसोको जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।










