भोटेकोशी बाढीः चन्द्रागिरि नगरद्वारा उद्धार तथा औषधीजन्य सामाग्री हस्तान्तरण
थानकोट ।
भदाै १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित बनेका नागरिकहरूका लागि चन्द्रागिरि नगरपालिकाले सहायता सामाग्री हस्तान्तरण गरेको छ।
नगरप्रमुख घनश्याम गिरीले शनिबार ती सहायता सामाग्री सशस्त्र प्रहरी बल नेपालमार्फत हस्तान्तरण गरेका हुन् । सो क्रममा त्रिपाल, बेल्चा, लाइफ ज्याकेट, आरी, प्राथमिक उपचार बक्स, शव व्यवस्थापनका लागि प्लास्टिक, झुल, टेन्ट लगायतका ३० प्रकारका सामाग्री उपलब्ध गराइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
यस्तै, २४ प्रकारका औषधीजन्य सामाग्रीसमेत बाढी प्रभावित क्षेत्रका लागि हस्तान्तरण भएको बताइएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चन्द्रागिरि नगरपालिकाले के कति सहायता पुर्याउने भन्ने विषयमा भने हालसम्म कुनै निर्णय नभएको बताइएको छ । चन्द्रागिरिका छिमेकी स्थानीय तहहरुले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोगको निर्णय तथा घोषणा गरिसकेका छन् ।











