आज जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणी पर्व मनाइँदै

Thankot Times

थानकोट ।

श्रावण शुक्ल पूर्णिमाका दिन तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् ।

वैदिक परम्परा अनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ।

 यस दिन वर्षभरिका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यसैदिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

यसदिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ। यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।

विवाहित पुरूषहरू यस दिन जनै फेर्नका लागि ससुराली जाने गर्दछन् ।

जनै पूर्णिमाको दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ जसमा दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन्।

यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर तथा भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिन्छ ।

जनै पूर्णिमाको दिन विभिन्न ९ थरिका गेडागुडी मिसाएर क्वाँटी खाने गरिन्छ ।

अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो ।

यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिनको स्रोत पनि हो यो ।

खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

तस्बिरः प्रदिप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *