भोटेकोशी बाढीः अस्ट्रेलियाले पठायो थप ३० लाख डलरको मानवीय सहायता
थानकोट ।
भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलिया सरकारले थप मानवीय सहायता पठाएको छ ।
बुधबार राहत सामग्रीसहित अस्ट्रेलियन एयर फोर्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानमार्फत ल्याइएको राहत सामग्री काठमाडौंस्थित अस्ट्रेलियन दूतावासका प्रतिनिधिले गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका छन् ।
अस्ट्रेलिया सरकारले बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि जारी सहयोगअन्तर्गत ३० लाख अस्ट्रेलियन डलर बराबरको थप मानवीय सहायता उपलब्ध गराएको जनाएको छ । यसअघि पनि अस्ट्रेलियाले बाढी प्रभावितका लागि राहत सामग्री पठाएको थियो ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम जारी छ । अस्ट्रेलियाले उपलब्ध गराएको पछिल्लो सहयोगमा आवश्यक मानवीय राहत सामग्री तथा उद्धारमा प्रयोग हुने उपकरण र जनशक्ति समेत रहेको जनाइएको छ ।
यसैबीच, भोटेकोशी बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । यता नेपाल पर्यटन बोर्डले भने ३५ जना अस्ट्रेलियन पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ ।
सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिक तथा पर्यटकको अवस्था यकीन गर्न अस्ट्रेलिया सरकारले नेपाली उद्धार टोलीसँग समन्वय गरी खोजी कार्य अघि बढाइरहेको छ ।
अस्ट्रेलियाली अधिकारीहरूले उनीहरूको अवस्था पत्ता लगाउनुका साथै परिवार तथा आफन्तलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउने प्रयास गरिरहेका छन् ।
भोटेकोशी बाढीपछि नेपालमा रहेका आफ्ना नागरिकको खोजी तथा उद्धारका लागि अस्ट्रेलियाले नेपाली अधिकारीसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । पछिल्लो मानवीय सहायता पनि बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले पठाइएको हो ।










