नेपाल सरकारद्वारा यःमरी राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत

Thankot Times

थानकोट ।

नेपाल सरकारले नेवार समुदायको मौलिक परिकार तथा पर्व ‘यःमरी (पुन्ही)’ लाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै यःमरीलाई राष्ट्रिय सम्पदाको मान्यता दिइएको औपचारिक जानकारी गराएको हो ।

मन्त्रालयका सह प्रवक्ता तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकारको साउन २३ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो घोषणा गरिएको हो । ललितपुरका नेवार समुदायले गरेको प्रस्तावका आधारमा यःमरीलाई अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालयले विभिन्न समुदायहरूको पहिचान एवम् अभिलेखीकरणमार्फत् अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन अमूर्त सांस्कृतिक सम्पदाहरूको राष्ट्रिय सूचीकरण कार्य थालनी गरेको छ ।’

यो निर्णय ‘अमूर्त सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१’ मा भएको प्रावधानअनुसार गरिएको हो । यो सूचीकरणसँगै यःमरीको संरक्षण, प्रवर्द्धन र यसको मौलिकतालाई जीवन्त राख्न थप बल पुग्ने विश्वास गरिएको छ ।

यःमरी चामलको पिठोबाट बनाइने एक विशेष परिकार हो, जसमा चाकु र खुवा जस्ता गुलिया वस्तु भरिन्छ । यो विशेष गरी धान्य पूर्णिमाका दिन मनाइने ‘यःमरी पुन्ही’ पर्वको मुख्य आकर्षण हो, जसले अन्न र सहकालको प्रतीकको रूपमा सांस्कृतिक महत्त्व राख्दछ ।

विज्ञप्ति हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *