बागमतीका मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
थानकोट ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्र बानियाँको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
आफ्ना सदस्यहरुलाई बानियाँले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थिति हुन, तटस्थ नबस्न र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ ।
बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ ।
समितिमा प्रदेश सदस्यहरु श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् ।
बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।
सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रवक्तामा सुरजचन्द्र लामिछाने नियुक्त भएका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लामिछानेलाई प्रवक्तामा नियुक्त गरेको हो ।













