नेपालका ७५ कारागारमा साढे २८ हजार कैदीबन्दी

Thankot Times

थानकोट।

नेपालका विभिन्न स्थानमा रहेका ७५ वटा कारागारमा २८ हजार ७१८ जना कैदीबन्दी छन् ।

तीमध्ये विदेशी कैदीबन्दीको संख्या एक हजार ४२७ रहेको छ ।

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागका अनुसार, यो संख्या ०८२ असार मसान्तसम्म कारागारमा रहेका कैदीबन्दीको हो ।

विभागको तथ्यांकअनुसार, कारागारमा १८ हजार २८३ जना कैदी र १० हजार ४३५ जना थुनुवा छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये पुरुषको संख्या २७ हजार १६८ र महिलाको संख्या एक हजार ५५० छ ।

कारागारमा रहेका कैदीमध्ये १७ हजार ३२९ पुरुष र ९५४ महिला छन् । त्यस्तै, थुनुवामध्ये पुरुषको संख्या नौ हजार ८३९ र महिलाको संख्या ५९६ छ ।

कारागारमा ६५ वर्षमाथिका कैदीबन्दीको संख्या ६०१ रहेको छ ।

आश्रित बालबालिका ६४ जना छन् ।

विभागका अनुसार, विभिन्न स्थानमा रहेका बाल सुधार गृहमा एक हजार ३७४ बालबालिका छन् । बाल सुधार गृहमा कैदी बालबालिका ७८० र थुनुवा बालबालिका ५९४ जना छन् ।

सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी काठमाडौंको जगन्नाथदेवल कारागारमा छन् । यस कारागारमा तीन हजार ७७१ जना कैदीबन्दी राखिएको विभागको तथ्यांकले देखाउँछ ।

कैदीबन्दीको दोस्रो ठूलो संख्या सुनसरीस्थित झुम्का कारागारमा छ । झुम्का कारागारमा एक हजार ७९७ जना कैदीबन्दी राखिएको छ ।

कैदीबन्दीको तेस्रो ठूलो संख्या झापा कारागारमा एक हजार ५७० रहेको छ । चौथो र पाँचौँ ठूलो संख्या क्रमशः पर्सा कारागारमा एक हजार ३०९ र ललितपुरको नख्खु कारागारमा एक हजार २९२ रहेको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार, मोरङ कारागारमा एक हजार ११०७, मकवानपुरको भीमफेदी कारागारमा एक हजार ३०, बाँकेको नेपालगञ्ज कारागारमा ७३१, चितवन कारागारमा ७३०, नुवाकोट कारागारमा ७२९ र कास्की कारागारमा ६९५ जना कैदीबन्दी छन् ।

यस्तै, कैलाली कारागारमा ६८६, डिल्लीबजार कारागारमा ६७१, रूपन्देही कारागारमा ५९१, नौवस्ता, बाँके कारागारमा ५७, नवलपरासी पश्चिम कारागारमा ५६३ र महोत्तरी कारागारमा ५५६ जना कैदीबन्दी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *