अनेम संघ काठमाडाैं क्षेत्र नं. १० को अध्यक्षमा चन्द्रागिरिकी तेजिला थापा सर्वसम्मत
थानकोट ।
अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. १० को तेस्रो क्षेत्रीय सम्मेलनले चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान दश नं. निवासी तेजिला अधिकारी थापालाई अध्यक्ष निर्वाचित गरेको छ ।
बिहीबार बसेको नेकपा एमालेको निकटको सो जनवर्गीय संगठनको सम्मेलनले थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ।
काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरपालिका अन्तर्गत वडा नं. २ देखी ११ सम्मका १० वटा वडा, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका क्षेत्रका इलाका पर्दछन् ।
थापा नेतृत्वको नयाँ कार्यसमितिले सो संगठनलाई थप सशक्त बनाउँदै महिला अधिकार, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।
संघको उपाध्यक्षमा दक्षिणकाली नगरकी जानुका पन्त र कीर्तिपुरकी राजेश्वरी माली निर्वाचित हुँदा सचिवमा दक्षिणकालीकी मुना लामा सर्वसम्मत भइन् । कोषाध्यक्षमा कीर्तिपुरकी अहिल्या अधिकारी निर्वाचित हुँदा सह-सचिवमा चन्द्रागिरिकी शोभा वली चयन भइन् ।
बिहीबार नै काठमाडौ निर्वाचन क्षेत्र नं ७ मा समेत अनेम संघको सम्मेलन सकिएको नेकपा एमालेले जनाएको छ ।
यो सँगै काठमाडाैंका १० मध्ये ९ वटा निर्वाचनमा संघको सम्मेलन सकिएको छ ।













