थानकोट चेकपोष्टमा धिमे बाजा प्रतियोगिता हुँदै, पहिलो हुनेको पोल्टामा १ लाख नगद पुरस्कार

Thankot Times

थानकोट ।

चन्द्रागिरिमा आउँदो असोज ११ गते प्रथम बागमती प्रदेशस्तरीय खुला धिमे प्रतियोगिता आयोजना हुने भएको छ ।

धिमे बाजाको उपयोगिता र महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना हुन लागेको बताइएको छ ।

प्रतियोगितामा प्रथम स्थान हात पार्ने समुहलाई नगद एक लाख, दोस्रो स्थान प्राप्त गर्ने समुहलाई पचास हजार, तेस्रो स्थान प्राप्त गर्ने समुहलाई पच्चीस हजार रुपैयाँ र सान्त्वना स्थानका लागि दस हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल दिइने प्रतियोगिता आयोजक श्री नासःभैरव धिमय खल, चन्द्रागिरि नगरपालिका–६, नगाःचाले जनाएको छ ।

प्रतियोगिता चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित प्रभात माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समुहहरूले असोज ६ गतेसम्म समुह दर्ता गर्न सक्नेछन जसका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

धिमे नेवार समुदायमा सर्वाधिक प्रचलित बाजा हो। नेवार समुदायको अधिकांश बाजामध्ये धिमे सिक्न सहज भएको कारण पनि लोकप्रिय भएको मौलिक बाजा जानकारहरुको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *