आज कीर्तिपुर बाघ भैरव जात्रा, बाघ भैरवको मुखमा जिब्रो नहुनुको कारण यस्तो छ

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरका बासिन्दाका इष्टदेवताका रुपमा समेत मानिने बाघभैरवको जन्म दिनको रुपमा प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात भदौ १ गतेका दिन बाघभैरवको जात्रा मनाउने चलन रहेको छ ।

जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी कीर्तीपुरका विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ ।

नेपाल सम्वत् १०६७ तदनुसार वि.सं. २०१३ सालदेखि शुरु भएको यो जात्रामा खटजात्रा चलाउने परम्परा भने वि. सं. २०१४ भदौ १ गतेदेखि सुरु भएको बताइन्छ ।

जात्राको दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।

यस्तो छ कीर्तिपुरमा बाघ भैरव मन्दिर स्थापना हुनुको किंंवदन्ती

किंंवदन्ती अनुसार घना जंगलको रुपमा रहेको हाल मन्दिर भएको यो क्षेत्र उत्तरतर्फको बस्तीका गोठालाहरुको गाईवस्तु चराउने स्थल थियो । गाईवस्तु चराउन गएको समय एउटा गोठालाले माटो मुछेर बाघको मुर्ति बनाएर त्यसमा जिब्रो बनाउने भन्दै पात खोज्न गएको बेलामा त्यो माटोको बाघमा शक्ति उत्पन्न भई चरिरहेका सबै गाईवस्तु खाइदियो । त्यही बाघले नै आफ्ना गाईवस्तु खाईदिएको भन्दै गोठालाहरुले रिसले मूर्तिमा जिब्रो राखेनन् । त्यसपछि पनि मानिसहरुलाई समेत दुःख दिन थालेको त्यो बाघ बारे तान्त्रिकलाई सोध्दा बाघमा भैरव प्रवेश गरेकाले त्यस्तो भईरहेको र विधिपूर्वक भैरवको पूजाआजा गरेपछि बाघको उत्पात साम्य हुने उपाय बताएछन् । तान्त्रिकको सुझाव अनुसार भैरवको पूजाआजा गर्दा यो समस्याको अन्त्य भएपछि त्यहि स्थानमै बाघ भैरवको मन्दिर पनि स्थापना गरियो ।

मुर्ती बनाउँदा जिब्रो नराखेको कारण हाल सम्म पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको जनविश्वास रहेको छ ।

अर्को किंवदन्ती

बाघभैरव ऐतिहासिक कीर्तिपुरको वास्तविक इतिहास नरगो र बाघभैरव देवस्थलको आख्यान र दस्तावेजले छर्लङ पारिदिन्छ । कीर्तिपुरको प्राचीन वस्ती नरगो हो । जहाँ खनजोत गर्दा अति पनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ । आख्यानअनुसार कीर्तिपुरस्थित हाल बाघभैरव बस्ती जंगलै जंगलले ढाकिएको बेला नरगोबासी झवा : मचा : (गोठाला) भेडा चराउन जांदा माटोको बाघको मूर्ति बनाएर खेल्ने गर्दथे । बाघको अङ्ग बनाउँदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछ । आश्चर्यचकित उनीहरु चिच्याएको सुनी नरगोबासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुनेछन् । भनिन्छ , त्यसैबेलादेखि नरगोबासी हाल टंगालको हाडीगाउँमा बसाई सरेका हुन् । त्यसैले टंगालस्थित हाडीगाउँलाई नेपालभाषामा नरदे अर्थात् नरगोबासी भनिएको हो ।

बाघबाट पीडित नगा र पांगा : बासी मिली तान्त्रिकलाई देखाउँदा माटोको बाघमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा समारोहको आयोजना गर्नुपर्ने सुझाव दिएछन् ।

सोही दिनको स्मरणमा प्रत्येक वर्ष भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई राँगा, भेडा र बोका बली दिई खुसी पार्ने र भव्य खटजात्रा गर्ने परम्परा चल्दै आइरहेको हो । तीन तल्ले आयातकार प्यागोडा शैलीको बाघभैरव मन्दिर पाटन पिम बहालका महापात्र जगतपाल बर्माले ने.सं. ३३५ मा निर्माण गराएका हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरे राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीको हत्या गर्नुअघि ने. सं. ८८४ मा भएको युद्धमा कीर्तिपुरेले उनै बाघभैरवको शक्ति साँधेर तीन पल्टसम्म पर हराइदिएको बताइन्छ । सो युद्धमा राजा पृथ्वीनारायण शाहका भाई सुरप्रताप शाहको देब्रे आँखा फोरिनुका साथै गोर्खा सैनिक कमान्डर कालु पाण्डेको हत्या गरी ढाल, तरबार , कवच र फलामको भोटो बाघभैरवलाई चढाएका थिए ।

मन्दिरको टुडालामा गोरखाली फौजले छोडेका हातहतियारहरु अझैपनि टांगिएको पाइन्छ ।

तस्बिरः प्रदिप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *