नेपाल टेलिकमको नाफामा ह्रास
थानकोट ।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा ओरालो लाग्ने क्रम गत आर्थिक वर्षमा निरन्तर रहेको छ ।
कम्पनीले शनिबार सार्वजनिक गरेको गत आव २०८१/८२ को वित्तीय विवरण अनुसार खुद नाफा ५७.२१ प्रतिशतले घटेर दुई अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपियाँ पुगेको छ ।
कम्पनीले त्यसअघि आव २०८०/८१ मा छ अर्ब २३ करोड ५५ लाख दुई हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।
यस हिसाबले एक वर्षमै टेलिकमको नाफा तीन अर्ब ५६ करोड ७३ लाख रुपियाँले घटेको छ ।
कम्पनीको सञ्चालन आय गत वर्षको सोही अवधिको तुलनामा स्थिर रहे पनि कुल आय र खुद मुनाफामा भने गिरावट देखिएको छ ।
कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार पुगेको छ ।
जुन अघिल्लो वर्षको सोही अवधिको ३४ अर्ब ५६ करोड दुई लाख ६५ हजारको तुलनामा जम्मा ०.०८ प्रतिशतले कमी हो । कुल आय भने ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजारमा सीमित रह्यो, जुन गत आवको सोही अवधिको ४२ अर्ब ११ करोड ६९ लाख १० हजारको तुलनामा ८.०३ प्रतिशतले घटेको छ ।
यस हिसाबले एक वर्षमा कम्पनीको कुल आय तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजारले कमी भएको छ ।
गत आवमा कर अघि कम्पनीले ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रुपियाँ आम्दानी गरेको छ । त्यसअघि यस्तो नाफा ११ अर्ब २५ करोड छ लाख ५१ हजार रुपियाँ थियो ।












