आचरण विपरीत काम गरेका प्रहरीलाई कारबाही गरिएको हो, नजरबन्दमा राखिएको छैन-नेपाल प्रहरी

Thankot Times

थानकोट ।

प्रहरी प्रधान कार्यालयले ‘१३ जना प्रहरीलाई नजरबन्दमा राखिएको’ भन्ने समाचारलाई असत्य र भ्रामक बताएको छ। प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सो समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, “मिति २०८२ साउन ३१ गते केही अनलाइन तथा सामाजिक सञ्जालमा सम्प्रेषित ‘१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद (एक प्रकारको नजरबन्द) तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानूनी रूपमा राखिएको छ’ भन्ने समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

प्रहरी प्रधान कार्यालयका अनुसार, समाचारमा उल्लेख भएअनुसार कुनै पनि प्रहरी कर्मचारीलाई नजरबन्दमा राखिएको छैन्। तर, प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणबाट गुनासो तथा उजुरीहरू आएकोले निजहरूमाथि प्रहरी नियमावली बमोजिम आवश्यक छानबिन प्रक्रिया भइरहेको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले भनेका छन्, “उजुरी प्राप्त भएपछि नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले सम्बन्धित प्रहरीलाई झिकाई अनुसन्धान कार्य गरिरहेको छ। यस सम्बन्धमा प्रकाशित समाचारमा कुनै पनि सत्यता छैन्। नेपाल प्रहरी कानून कार्यान्वयन, मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध छ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *