प्रशासकीय भवन बनाउन चन्द्रागिरि वडा नं. ५ र ७ ले पाए लालपूर्जा, डीपीआरको तयारी तिव्र
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरको वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन नेपाल सरकारबाट जग्गाको लालपूर्जा प्राप्त गरेको छ ।
गत साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले यी वडाहरूका लागि प्रशासनिक भवन बनाउन सार्वजनिक जग्गा दिने निर्णय गरेको थियो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन मन्त्रिपरिषद् बाट जग्गा स्वीकृत
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको नाममा रहेको साबिक थानकोट महादेवस्थान गाविस मा भएका जग्गा वडा कार्यालय भवन बनाउन दिने निर्णय भएको थियो ।
जग्गाको धनीपूर्जा प्राप्त भएलगत्तै संरचनाको डीपीआरको तयारी तिव्र बनाइएको चन्द्रागिरि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जन र चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिए ।
हाल चन्द्रागिरि नगरपालिका वडा नं. ५ को वडाको कार्यालय रहेको भवनको पूर्वतर्फ रहेको साबिक थानकोट महादेवस्थान गाविस वडा नं. २ को नक्सा सिट नं. २ ख को कित्ता नं. २९ को ४ रोपनी मध्ये ३ रोपनी जग्गाको लालपूर्जा चन्द्रागिरि नगरपालिका वडा न. ५ को भवन निर्माणार्थ चन्द्रागिरि नगरपालिकाको नाउँमा प्राप्त भएको हो ।
यस्तै चन्द्रागिरि नगरपालिका वडा नं. ७ को भवन बनाउन वाणस्थलीस्थित हाल बालबालिका मनोरञ्जन उद्यानको पूर्वतर्फ रहेको साबिक थानकोट महादेवस्थान गाविस वडा नं. ८ को नक्सा सिट नं. ८ख को कित्ता नं. १ को २२ रोपनी ११ आना मध्ये ३ रोपनी जग्गाको लालपूर्जा चन्द्रागिरि नगरपालिकाको नाउँमा प्राप्त भएको हो ।
हाल यी दुवै वडाले घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएका छन् ।















