थानकोट प्रहरी वृत्तको नवनिर्मित कार्यालय भवन उद्घाटन

Thankot Times

थानकोट ।

६ करोड ७१ लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको सोमबार औपचारिक उद्घाटन गरिएको छ ।

वृत्त हातामा संयोजित एक समारोहका बीच नवनिर्मित भवन काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गले उद्घाटन गरेका हुन् ।

नेपाल सरकारले विनियोजन गरेको बजेटबाट सो भवन निर्माण भएको प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीको भनाइ छ ।

भवन निर्माण भइरहँदा प्रहरी वृत्त थानकोटले त्रिभुवन पार्कस्थित एक भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।

भवन निर्माणका लागि किरातेश्वर बिल्डिङ्ग कन्स्ट्रक्सन प्रालिसँग २०७७ जेठ २९ गते सम्झौता भएको थियो । २०८२ असार २० गते निर्माण सम्पन्न भएको हो ।

भवन उद्घाटन गर्दै एआईजी तामाङले अनुसन्धानमा प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । उनले भने, ‘विश्वस्तरको प्रविधि प्रयोग गरेर अपराध अनुसन्धान गर्ने हाम्रो योजना छ ।’

सो क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले भने, ‘विगतको आरोह-अवरोह भोगेर हामी अहिलेको अवस्थामा आएका छौँ ।’

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले लामो प्रतीक्षापछि थानकोट प्रहरी त्रिभुवन पार्कबाट नयाँ आधुनिक भवनमा बस्न थालेको बताए । उनले भने, ‘भूकम्पपछि प्रहरी वृत्त थानकोटले पार्कमा बसेर नागरिकको सुरक्षामा काम गरेको थियो ।’

वृत्त हातामा २०६२ साल माघ १ गते तत्कालीन द्वन्दका क्रममा प्रहरी चौकी थानकोटमा आक्रमण हुँदा कार्यालय परिसरभित्रै ११ जना नेपाल प्रहरीका कर्मचारीहरूले ज्यान गुमाएकोमा उनीहरूको सम्झनामा प्रहरी वृत्त थानकोट परिसरमा निर्माण गरिएको ढुङ्गेधाराको समेत काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गले सोमबार उद्घाटन गरेका छन् ।

२० वर्षअघिको त्यो घटनामा प्रहरी नायब उपरीक्षक महेश कुमार रावल, प्रहरी निरीक्षक प्रकाश के.सी., प्रहरी निरीक्षक रत्न बहादुर सुवेदी, प्रहरी नायब निरीक्षक यादव राज के.सी., प्रहरी हवल्दार डिकेन्द्र कुमाल, प्रहरी हवल्दार मिठ्ठु राम कार्की, प्रहरी हवल्दार सूर्यमान तामाङ, प्रहरी हवल्दार ईश्वरी दाहाल, प्रहरी हवल्दार दिपेन्द्र निरौला, प्रहरी हवल्दार बाबुराम अधिकारी र प्रहरी हवल्दार रविन कुमार कार्कीले ज्यान गुमाएका थिए । 

यो पनि पढ्नुहोस्

यसरी गरिएको थियो थानकोट प्रहरी चौकीमाथि आक्रमण- युवराज दुलाल

प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको उद्घाटन समारोहमा नेपाल प्रहरीका उच्च अधिकारीहरूका साथै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय बासी तथा भवन निर्माण बनाउन सहयोग गर्ने व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

संघीय राजधानी प्रवेश गर्ने नाकामा रहेका कारण यस कार्यालयलाई प्रहरी वृत्तमा विशेष महत्वका साथ लिने गरिन्छ ।

प्रहरी वृत्त थानकोटले विशेषतः चन्द्रागिरि नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने गर्दछ ।

कार्यालयमा १३७ जना प्रहरी कर्मचारीको दरबन्दी छ भने कार्यालय मातहत प्रहरी प्रभाग नागढुङ्गा, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग नैकाप, प्रहरी प्रभाग मच्छेगाउँ र प्रहरी प्रभाग मातातिर्थ पर्दछन् ।

जानकारहरूका अनुसार वि.सं. २०१९ ताका स्थापना भएको थानकोट राहदानी चाैकी थानकोटस्थित समाजसेवी पुरञ्जन श्रेष्ठको घरमा बसेको थियो ।
पछि २०३० को दशकमा चेकपोष्टस्थित समाजसेवी शिवशंकर मानन्धरको घरमा बस्न थालेकोमा तत्कालीन प्रहरी प्रमुख खड्गजीत बरालले २०३५ सालमा नयाँ भवन स्थापना गराइ आफ्नै भवनमा प्रहरी चाैकी राखेका थिए ।

तस्बिरमा हेर्नुहोस्
पछि २०६३ को सशस्त्र आक्रमण तथा २०७२ को भूकम्पपछि जीर्ण बनेको प्रहरी चाैकी भवन भत्काइ यस भवन बनाइएको हो । तत्कालीन समय इट्टाखेल रहेको यस क्षेत्रको नाम प्रहरी थाना स्थापना भएसँगै चेकपोष्ट हुन गएको हो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *