अमेरिकाद्वारा नेपाली सेनालाई एउटा ‘एयर एम्बुलेन्स’सहित दुईवटा ‘एम २८ स्काई ट्रक’ हस्तान्तरण

Thankot Times

थानकोट ।

अमेरिकाले नेपाली सेनालाई दुईवटा ‘एम २८ स्काई ट्रक’ हस्तान्तरण गरेको छ ।

वैदेशिक सहायता कार्यक्रमअन्तर्गत ती दुईवटा विमान बिहीबार हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

अमेरिकाले हस्तान्तरण गरेको दुईवटा स्काई ट्रकमा एउटा ‘एयर एम्बुलेन्स’ रहेको छ । ती दुई स्काई ट्रक पूर्ण अनुदानमा सहयोग स्वरूप प्राप्त भएको सेनाले जनाएको छ ।

बिहीबार गौचरस्थित मध्य एयर वेसमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्य र रक्षामन्त्री मानवीर राईको उपस्थितिमा नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले प्रधानसेनापति अकोश राज सिग्देललाई ती विमान हस्तान्तरण गरेका थिए ।

“अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालीन उद्धारका लागि प्रयोग हुनेछ,” नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएकी थिइन् ।

सोही अवसरमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले हस्तान्तरण गरिएका दुई वटा स्काई ट्रकहरूले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धमा महत्त्वपूर्ण आयाम थपिएको बताए । उनले निकट भविष्यमा सहयोग स्वरूप थप दुईवटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत जनाए ।

अमेरिकाले आज (भदौ १९) गते नेपाली सेनालाई तीन करोड ७० लाख अमेरिकी डलर (करिब सवा पाँच अर्ब रुपैयाँ) बराबरको विदेशी सैन्य वित्तपोषण (एफएमएफ) अनुदानमार्फत दुईवटा नयाँ एम–२८ स्काइट्रक विमान प्रदान गरेको छ । जसबाट नेपालको हवाई उद्धार क्षमतामा अभिवृद्धि भएको छ ।

तस्बिरः अमेरिकी दुतावास


Leave a Reply

Your email address will not be published. Required fields are marked *