मातातिर्थ चाैरमा भदाै २६ बाट व्यापार मेला हुँदै, स्थानीय व्यवसायीलाई स्टल राख्न विशेष सहुलियत
थानकोट ।
मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा भदाै २६ गतेबाट चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातिर्थस्थित चाैरमा दोश्रो चन्द्रागिरि औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।
असोज ११ गतेसम्म जारी रहने सो महोत्सव औद्योगिक शान्ति नेपालले व्यवस्थापन गर्नेछ ।
महोत्सवमा विभिन्न सरसामान र सेवाका करिब १ सय वटा स्टल रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जहाँ सूचना प्रविधि, अटोमोबाइल्स, मोबाइल इलेक्ट्रोनिक, तयारी लत्ता कपडा, दैनिक उपभोग्य सामाग्रीका पसल राखिनेछन् । यस्तै हरेक दिन सांस्कृतिक कार्यक्रम हुनेछ भने स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरूले समेत प्रस्तुति दिनेछन् ।
यस्तै, बाल उद्यान लगायत विभिन्न साहसिक खेल महोत्सवका आकर्षण रहने मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए । स्थानीय उत्पादन एवं सेवाहरूको बजार व्यवस्थापनका लागि उक्त महोत्सव सञ्चालन हुन लागेको अध्यक्ष उदासको भनाइ छ ।
चाडपर्वका लागि लक्षित गरि मातातिर्थ आयोजनामा हुन लागेको महोत्सवले स्थानीयको दशैं, तिहार, नेपाल संवत् तथा छठका लागि हुने किनमेल एकै छानामा हुने अवसर मिल्नेमा आयोजकले विश्वास लिएको छ ।
स्थानीय व्यापारीहरूले महोत्सवमा स्टल राख्न चाहेमा विशेष सहुलियत दिइने समेत महोत्सव व्यवस्थापन गर्ने संस्था औद्योगिक शान्ति नेपालका सचिव जीवन नेपालले जानकारी दिए । अहिले महोत्सवका लागि तयारी तिव्र बनाइएको उनको भनाइ छ ।
महोत्सवमा प्रवेश निःशुल्क रहनेछ, यद्यपी राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने दिन असोज ३, ४, ६ र १० गते भने प्रवेश शुल्क लिइनेछ ।












