राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका जात्रा अवलोकन गरेका हुन् ।

विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका छन् । उनसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेको उनको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीवार बिहान हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ ।

यही भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमान ढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्ने छन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।

भदौ २६ गते राति १०:३२ बजे इन्द्र ध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्र ध्वज पातन गरेपछि इन्द्रजात्राको लिंगोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पुर्‍याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिए । उनका अनुसार लिंगो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले निकालेको साइतमा लिंगोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु भएको थियो । वनयात्रा, रुख कटान, लिंगो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *