कलेज ड्रेसमै माइतीघरमा जम्मा हुन थाले ‘जेनजी’

Thankot Times

थानकोट ।

जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।

बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।

युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन् ।

कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्डसहित आइपुगेका छन् ।

उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।

विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

तस्बिरः सामाजिक सञ्जाल । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *