नेपालस्थित विभिन्न दूतावासले भने- परिस्थितिलाई थप बिग्रिन नदेऊ
थानकोट ।
अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।
शान्तिपूर्णसभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति सचेत रहन पनि अपिल गरेका छन् ।
जेन्जी पुस्ताले सोमबार गरेको आन्दोलन र हिंसात्मक घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह समेत गरेको छ ।
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
“हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा सोमबार देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ । यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा उनीहरूले आवाज उठाएका छन् ।
“हाम्रा सरकारहरूले शान्तिपूर्णसभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ ।
४२१ जना घाइते भएका छन् ।

















