मकवानपुरको भिमफेदी कारागारबाट २६० जना कैदी भागे
थानकोट ।
मकवानपुरको भिमफेदी कारागारबाट गएराति २६० कैदीबन्दी भागेका छन् । भीमफेदीका कैदीबन्दी मध्यरातमा सुरक्षा घेरा तोडेर भागेका हुन् ।
कैदीबन्दी भाग्न थालेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारको पर्खाल तोडेर भाग्न खोज्ने क्रममा नेपाली सेनाले २०० बढी हवाई फायर गरेको थियो ।
जेलर सुवास पौडेलका अनुसार घटनापछि कारागारमा ठूलो क्षति पुगेको छ। उनका अनुसार, गएराति करिब १२:२५ बजे कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले सिलाइकटाइ मेसिन रहेको कोठाको गेटको बार ह्याक्सो ब्लेडले काटेर भाग्ने प्रयास गरेका थिए। सिसिटिभी फुटेजबाट घटनाबारे थाहा पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको उनले बताए । कैदीबन्दीहरूले होहल्ला र तोडफोड गरेका थिए।
सो क्रममा कैदी र सुरक्षाकर्मीबीच झडप समेत भएको र स्थितिलाई नियन्त्रणमा लिन सेनाले २०० राउन्ड हवाई फायर र ७ राउन्ड अश्रुग्यास प्रहार गरेको उनले बताए । जवाफी कारबाहीमा भाग्न खोजेका कैदी जंगबहादुर नारायणजंगको खुट्टामा गोली लागेको उनले बताए । उनलाई बिहान ४ बजे उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
भाग्ने प्रयासमा रहेका संलग्न अन्य कैदीहरूलाई भने सुरक्षाकर्मीले बिहान २:३० बजेसम्ममा पूर्ण रूपमा नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फिर्ता गरेको थियो।
झडपका क्रममा कैदीहरूले कारागार प्रशासनको कार्यालय भवन तथा आवासमा आगजनी र तोडफोड गरेका छन्। आगजनीबाट कार्यालयका महत्त्वपूर्ण अभिलेख, कम्प्युटर, फर्निचर लगायतका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्।
साथै, प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड भएको छ।

















