ड्राइभिङ लाइसेन्स छपाइ र वितरण बन्द
थानकोट ।
यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य बन्द गरेको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको जनाएको हो।
विभागका अनुसार भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागले दिने सेवा प्रणालीमा क्षति पुगेको हो।
जस कारण सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवामा अवरोध भएको विभागले जनाएको छ।
अर्को सूचना नभएसम्म सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायत सम्पूर्ण सूचना प्रविधि–सम्बन्धी प्रणाली बन्द रहनेछ,’ विज्ञप्तीमा भनिएको छ।



















