मातातिर्थ व्यापार मेला असोज २ गतेबाट, स्थानीय व्यवसायीलाई स्टल राख्न विशेष सहुलियत

Thankot Times

थानकोट ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा भदाै २६ गतेबाट चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातिर्थस्थित चाैरमा सुरु हुने गरि तय गरिएको दोश्रो चन्द्रागिरि औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेबाट सुरु हुने भएको छ । 

असोज १३ गतेसम्म जारी रहने सो महोत्सव औद्योगिक शान्ति नेपालले व्यवस्थापन गर्नेछ ।

महोत्सवमा विभिन्न सरसामान र सेवाका करिब १ सय वटा स्टल रहनेछ । 

भदाै २३ गते सुरु भएको जेन-जी प्रदर्शनपछि विकसित भएको घटनाक्रमपछि मेला स्थगित भएको थियो ।

जहाँ सूचना प्रविधि, अटोमोबाइल्स, मोबाइल इलेक्ट्रोनिक, तयारी लत्ता कपडा, दैनिक उपभोग्य सामाग्रीका पसल राखिनेछन् । यस्तै हरेक दिन सांस्कृतिक कार्यक्रम हुनेछ भने स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरूले समेत प्रस्तुति दिनेछन् ।

यस्तै, बाल उद्यान लगायत विभिन्न साहसिक खेल महोत्सवका आकर्षण रहने मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए । स्थानीय उत्पादन एवं सेवाहरूको बजार व्यवस्थापनका लागि उक्त महोत्सव सञ्चालन हुन लागेको अध्यक्ष उदासको भनाइ छ ।

चाडपर्वका लागि लक्षित गरि मातातिर्थ आयोजनामा हुन लागेको महोत्सवले स्थानीयको दशैं, तिहार, नेपाल संवत् तथा छठका लागि हुने किनमेल एकै छानामा हुने अवसर मिल्नेमा आयोजकले विश्वास लिएको छ । 

स्थानीय व्यापारीहरूले महोत्सवमा स्टल राख्न चाहेमा विशेष सहुलियत दिइने समेत महोत्सव व्यवस्थापन गर्ने संस्था औद्योगिक शान्ति नेपालका सचिव जीवन नेपालले जानकारी दिए । 

महोत्सवमा प्रवेश निःशुल्क रहनेछ, यद्यपी राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने दिन भने प्रवेश शुल्क लिइनेछ । 

महोत्सवको तयारी करिब सकिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *