थानकोटसहित विभिन्न प्रहरी कार्यालय हराएका हतियारको विवरण संकलन जारी
थानकोट ।
गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा काठमाडाैं उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट एक हजार थान भन्दा धेरै हतियार लुटिएको प्रहरीको अनुमान छ ।
जेन-जी आन्दोलनको दोस्रो दिन रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालय, नयाँ बानेश्वर, महाराजगन्ज, स्वयम्भू, थानकोट वृत्त जल्दा त्यहाँबाट हतियार लुटिएको छ।
उपत्यका प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार कार्यालयबाट ठूलो संख्यामा हतियार गायब छन्। “उपत्यका कार्यालय मातहतका जति पनि प्रहरी कार्यालय छन्, ती सबैबाट लुटिएका हतियारको संख्या जोड्दा ठूलो परिमाण भन्न सकिन्छ,” उनी भन्छन्।
केही हतियार जलेको अवस्थामा फेला परेका थिए। जलेका तथा लुटिएका सबै हतियारको संख्या यकिन गर्ने काम भइरहेको खनाल बताउँछन्। उपत्यका प्रहरी कार्यालय मातहतका दुई सय ७२ कार्यालयमध्ये २४ भदौमा एक सय २२ वटा जलाइएका थिए। आन्दोलनकारीले ती कार्यालय आगजनी गरेर हतियार लुट्दै प्रदर्शन गरेका थिए।
हतियार लुटिएपछि प्रहरीले सार्वजनिक सूचना जारी गरेर फिर्ता गर्न आह्वान गरेको थियो। तर लुटिएका हतियार फिर्ता भइहाल्ने टुंगो छैन।
एकातिर लुटिएका हतियार गाउँसमाजमा छन्, अर्कातिर असहज परिस्थितिको फाइदा उठाउँदै देशका २६ वटा कारागारबाट भागेका कैदीबन्दी बाहिरै घुमिरहेका छन्। यसले गर्दा समाजमा असुरक्षा र त्रासको भावना छ।
प्रहरी ऐन, २०१२ अनुसार प्रहरीले आफ्नो साथ वा जिम्मामा रहेका हातहतियार र खरखजानाको सुरक्षा गर्न सक्नुपर्छ। आफूसँग वा आफ्नो जिम्मामा रहेका हातहतियार आक्रमणकारीलाई सुम्पिन मद्दत गरेमा आजन्म कैद वा १४ वर्षसम्म जरिवाना हुने व्यवस्था छ।












