थानकोटका युवाको स्कुटर चोरी गर्ने निरज स्कुटरसहित समातिए

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरी गरेको आरोपमा एक युवालाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-९ हातेमालो चोक घर भई हाल काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय निरज थापा रहेका छन् । थापालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टका अनुसार हराएको मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको निगरानी एवं खोजतलास गर्न सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौं-२६ दरबारमार्ग-ज्याठा सडक खण्डबाट बागमती प्रदेश-०२-०३७ प ९४१० नम्बरको स्कुटर चलाई रहेको अवस्थामा थापालाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।

उक्त स्कुटर तनहुँको भिरकोट गाउँपालिका-३ घर भई हाल थानकोट बस्ने विजय थापाको रहेको प्रवक्ता भट्टले बताउनुभयो । उहाँका अनुसार विजय थापाले काठमाडौं माछापोखरीबाट हराएको भन्दै ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो ।

ट्राफिक प्रहरीले पछिल्लो समय काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट चोरी भई हराएका मोटरसाइकल र चोरी कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं  निगरानी बढाएर विशेष कारबाही अभियान चलाएको छ । निरज थापा र स्कुटरलाई अनुसन्धान गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तस्बिरः उपत्यका ट्राफिक प्रहरी कार्यालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *