दशैंका लागि गाउँघर फर्कने क्रम सुरु, थानकोटमा सवारी साधनको चाप, नागढुङ्गा सुरुङ खुलेन
थानकोट ।
सोमबारबाट यस वर्षको दशैं पर्व सुरु भएको छ ।
दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ ।
२४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।
यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।
कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।
गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ ।
थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।
यसैबीच, सरकारले नागढुङ्गा सुरुङ मार्ग हुँदै चारपाँग्रे यातायात साधनहरू सञ्चालनका लागि सरकाले तयारी गरेपनि तत्काल सो कार्यान्वयन नहुने भएको छ।
यसअघि (आज) सोमबारबाट सुरुङ मार्ग हुँदै सरकारले निर्दिष्ट गरेका सवारी साधनहरू राजधानीबाट बाहिरिन पाउने बताएकोमा प्राविधिक कारणले सो कार्यान्वयनमा नआएको स्रोतले जनायो ।












