उद्धार, राहत र पुनःर्स्थापनाको कार्यमा लाग्न नेपाली कांग्रेसको अपिल (विज्ञप्तिसहित)
थानकोट ।
नेपाली कांग्रेसले बाढीपहिरोका कारण इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै थप तदारुकताको अपिल गरेको छ ।
“भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको छ ।
सबैभन्दा बढी इलाम र त्यसपछि रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रती नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ,” कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ ।
थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवकहरूमा अपिल गरेको छ ।
“विपदको यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरुको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो । यो कर्तव्यमा अझ ऐक्यबद्ध भएर उद्वार, राहत र पुनर्स्थापनाको कार्यमा प्रवल ढंगले सहभागी हुन सबै राजनैतिक दल, भातृ संस्थाहरू, स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरू र स्थानीय स्वयंसेवकहरूलाई अपिल गर्दछौँ,” कांग्रेसले भनेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पार्टीका सबै भातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको विपद् केन्द्रित विशेष बैठक बसेको थियो । महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले विपदसँग जुध्न भातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत कार्य गर्ने निर्णय गरेको छ । ठाउँठाउँमा भातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेको कांग्रेसले जनाएको छ ।













