मन्त्री महावीर पुनले एमाले नेता महेश बस्नेतलाई भने: धेरै हावा कुरा नगर
थानकोट ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतलाई ‘हावा कुरा नगर्न’ सुझाव दिएका छन् ।
एक भिडिओ सन्देश जारी गरी मन्त्री पुनले तथ्य नबुझीकन नबोल्न चेतावनीसमेत दिएका छन् ।
बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गाडी देखाउन चुनौती दिएका हुन्।
भिडिओमा बस्नेत भनिरहेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू रै’छन्। कहाँबाट आयो ।
जवाफमा पुनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘महेश भाइ, मलाई क्वार्टर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गाडी कहाँ छ, देखाऊ। तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभएजस्तो नगर है त। तीनचार/पटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म। खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।’












