बागमती प्रदेश सभा बैठक कात्तिक तेस्रो साता बोलाउने तयारी

थानकोट ।

लामो समयदेखि बस्न नसकेको वाग्मती प्रदेश सभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ ।

प्रदेशका उपसभामुख अप्सरा चापागाईंका अनुसार, छठ पर्वलगत्तै प्रदेश सभाको बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रदेश सभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताइन् । नेताहरूसँग परामर्शपश्चात् प्रदेश सभा बैठकको मिति तय गरिने उपसभामुख चापागाईंको भनाइ छ ।

सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढाइएको उनले बताइन् । प्रदेश सभा हल ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको थियो । हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने गरी तयारी थालिएको छ ।

तत्कालका निम्ति अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेश सभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

“अहिले सो भवनलाई मर्मतसम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ,” सचिव पौडेलले भने, “सो सभाहलमा रङ लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम पनि तीव्र रूपमा भइरहेको छ ।”

सम्भवतः छिट्टै काम सकिने र त्यसपछि बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ । हाल उक्त सभाहलमा भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ ।

बैठक सञ्चालनका निम्ति आवश्यक पर्ने फर्निचर र अरू प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए । आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्युटरबाट काम सुरु गरिएको उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *