जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल बिक्री भएको खुलासा, ५ जना पक्राउ

Thankot Times

थानकोट ।

जेन-जी प्रदर्शनमा लुटिएको प्रहरीको पेस्तोल बेचबिखन भएको खुलासा भएको छ ।

यो प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भएका २४ वर्षीय अकवर खान, काठमाडौँ–१५ बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।

बानेश्वर घर भएर क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने मल्लले हतियार खरिद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

अन्य आरोपीहरूले भदौ २४ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको पेस्तोल लुटेर बिक्री गरेका हुन् । प्रहरीले लुटिएको १ थान पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौँ महानगरपालिका–१५ स्थित ट्राफिक विट नजिक चरा पसलमा काम गर्ने कृष्ण गुरुङले पेस्तोल लुटेको र अन्य ३ जनाले बेच्न सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

आरोपीहरू विरुद्ध प्रहरी वृत्त स्वयम्भूले हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *