नेपाल प्रिमियर लिग-२ः चेकपोष्टका नटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ थानकोट चेकपोष्टका नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन् ।
गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ मा देवेहाते तीव्र गतिका बलर नटराजन उत्कृष्ट बनेका थिए ।
मूलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार युवाले आफ्नो कौशलता देखाए । काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।
काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेका युवा नटराजन छनोटमा उत्कृष्ट चुनिएका थिए । उनलाई प्रशिक्षक शाही, सागका दोहोरो स्वर्ण विजेता एवं काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर मन्डेकाजी श्रेष्ठ र वागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले गोर्खाजको जर्सी प्रदान गर्दै ‘आइकोनिक खेलाडी’ घोषणा गरेका थिए । नटराजनले अब काठमान्डु गोर्खाजको टोलीबाट एनपीएल खेल्नेछन् । उनले १ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
दोस्रो चरणका ६० खेलाडीबाट गोर्खाजले नटराजनसहित १७ खेलाडी छानेको थियो । आइकोनिकबाहेक अन्य ५ खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ । त्यसमा अथर्व पौडेल, शार्दूल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डेभलपमेन्टमा छनोट परिएको हो । उनीहरूले जनही २५ हजार पाउनेछन् । उनीहरूले एनपीएलभर गोर्खाजको टोलीमै रहेर प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले बताए । डेभलपमेन्टमा छानिएका खेलाडीलाई काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर राष्ट्रिय फुटबलर विकेश कुथु, भलिबलकी पुनम चन्द, होटल व्यवसायी संघका सचिव अनिश बानियाँ, वानडे क्रिकेट एकेडेमीका सञ्चालक पुरुषोत्तम झाले सम्मान गरे ।
क्रिकेटका अन्य गतिविधि गर्न गोर्खाजले ट्यालेन्ट हन्ट ११ टोली बनाएको छ । यो टोलीमा चन्द्रकान्त पौडेल, सार्थक धिताल, आदर्श भण्डारी, सागर घिमिरे, गणेश गौतम, सौरभ साखकर्मी, दिवस क्षेत्री, नितेश कुमार, राकेश चौरसिया, दिवस कुँवर र युगान्त कार्की छनोट भएका छन् ।
यसअघि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बलिङ, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले ब्याटिङ र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले बलिङ गर्दै ट्यालेन्ट हन्टको सुरुआत गरेका थिए ।
सचिव खड्काले १२ दिन बाँकी रहेको अवस्थामा एनपीएल तयारी तीव्र गतिमा भइरहेको र यसले नेपाली क्रिकेटलाई मजबुत बनाउने बताए । क्यान सदस्य सुदीप शर्मासहित भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम पूर्व राष्ट्रिय खेलाडी मनीषराज पाण्डे, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतले एनपीएलले खेलाडीलाई ठूलो अवसर दिलाइरहेको जनाए ।
कान्तिपुरबाट












