इन्टरनेटमा हलचल ल्याउनेगरी क्लाउडफेयरमा देखिएको समस्या के हो ?
थानकोट ।
विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूले मंगलबार साँझतिर अचानक एक अनौठो समस्याको सामना गर्नुपर्यो । एक्स, च्याटजीपीटी, डिस्कर्ड, क्यान्भाजस्ता विश्वप्रसिद्ध प्लेटफर्मदेखि नेपालका प्रमुख अनलाइन न्युज पोर्टल र ईकमर्स साइट एक्कासि खुल्न छाडे ।
यस समस्याको मुख्य कारण थियो– ‘क्लाउडफ्लेयर’मा आएको प्राविधिक गडबडी ।
विश्वको प्रमुख ‘कन्टेन्ट डेलिभरी नेटवर्क’ सेवा प्रदायक कम्पनी क्लाउडफ्लेयरको सर्भरमा समस्या आउँदा विश्वभरको इन्टरनेट इकोसिस्टममा हलचल आएको थियो । डाउनडिटेक्टरका अनुसार, छोटो समयमै हजारौँ प्रयोगकर्ताले सेवा अवरुद्ध भएको रिपोर्ट गरेका थिए ।
के हो समस्याको मुख्य कारण ?
विश्वभरका लाखौँ वेबसाइटहरूको ट्राफिक व्यवस्थापन र सुरक्षा हेर्ने कम्पनी क्लाउडफ्लेयरले यो समस्या कुनै साइबर आक्रमणबाट नभएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार, यो उनीहरूको आन्तरिक प्रणालीमा भएको एक प्राविधिक त्रुटि थियो ।
क्लाउडफ्लेयरका प्रमुख टेक्नोलोजी अफिसर डेन नेक्टका अनुसार, समस्याको जड ‘बोट मिटिगेसन’ प्रणालीमा लुकेको एक ‘बग’ थियो । कम्पनीले आफ्नो नेटवर्क कन्फिगरेसनमा सामान्य अपडेट गर्दा यो ‘बग’ सक्रिय हुन पुग्यो, जसले गर्दा ट्राफिक व्यवस्थापन गर्ने प्रणाली नै क्र्यास भयो ।
सरल भाषामा भन्दा वेबसाइटको ‘ट्राफिक पुलिस’को भूमिकामा रहेको क्लाउडफ्लेयरको सिस्टमले असल प्रयोगकर्ता र खराब बोट छुट्याउन नसक्दा सबैलाई रोकिदियो । जसले गर्दा वेबसाइटहरूमा पहुँच बन्द भयो ।
क्लाउडफ्लेयरको सेवा प्रयोग गरिरहेका नेपालका प्रमुख मिडिया, डिजिटल भुक्तानी सेवा र केही सरकारी पोर्टलमा समेत समस्या देखिएको थियो । सेवाग्राहीले साइट खोल्न नमिलेको र एपहरूले काम नगरेको गुनासो सामाजिक सञ्जालमा पोखेका थिए ।
क्लाउडफ्लेयरले समस्या पहिचान भएको केही समयभित्रै समाधान गरिएको जनाएको छ । कम्पनीले मंगलबार रातिसम्म आफ्ना सबै सेवा सामान्य अवस्थामा फर्किसके पनि केही प्रयोगकर्ताले अझै समस्या भोगिरहेको जानकारी दिएको छ ।
मिन्टसहित एजेन्सीहरूको सहयोगमा ।












