चन्द्रागिरि नगरमा पनि र्यापिड एक्सन टिम गठन गर्ने रास्वपा सचिवालय बैठकको निर्णय
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको थियो ।
बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरू
१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो । सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो । सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ-राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो ।
२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो ।
३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।
४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम (Rapid Action Team- RAT)गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो ।
५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो ।












