मैत्रीपूर्ण महिला फुटबल : नेपाल इन्डोनेसियासँग २-१ ले पराजित

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित भएको हो ।

खेलको २०औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरेकी थिइन् । तर, इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेकी थिइन् । खेलको पहिलो हाफमा अग्रता लिएको नेपाललाई दोस्रो हाफमा इन्डोनेसियाले दुई गोल गर्दै पराजित गरेको हो ।

खेलको ५८औँ मिनेटमा इन्डोनेसियाकी कप्तान गिया युमन्दाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याइन् । ६७औँ मिनेटमा औलिया अरिफाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । उक्त प्रतियोगितामा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) भने चोटका कारण उपस्थित थिइनन् ।

पछिल्लो पटक नेपालले इन्डोनेसियालाई पराजित गरेको थियो । सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली टोलीसँग भेट भएको थियो । त्यतिबेला नेपालले इन्डोनेसियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

यसैगरी सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८–० गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब यही मंसिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ