‘झगडा धेरै गर्‍यौँ, धेरै कुरा गुमाइसक्यौँ, अब भएको जोगाऔँ’- प्रधानमन्त्री कार्की

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले विमतिका कुरा भए आफ्नो मत लिएर जनतामा जाने र चुनावमा जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गर्नुपर्ने बताएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा त्यस्तै धारणा राखेकी हुन् ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘झगडा धेरै गर्‍यौँ । क्षति धेरै बेहोरिसक्यौँ । धेरै कुरा गुमाइसक्यौँ । अब भएको जोगाऔँ । नयाँनयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँडौँ । विमतिका कुरा छन् भने आफ्ना मत लिएर जनतामा जाने कुरा गरौँ । चुनावमा जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ ।’

प्रधानमन्त्री कार्कीले थप भनिन्, ‘यहाँ मेरा लागि र यो सरकारका लागि कोही आफन्त-पराया छैनन् । हामी कुनै पनि कारणले पंक्तिभेद गर्दैनौँ । तपाईँहरू र अरु जोकोहीले दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौं ।’

भ्रष्टाचार प्रकरणका धेरै थाती रहेका मुद्दा अगाडि बढेको र यस्ता मामिलामा सरकार चुप लागेर नबस्ने उनको भनाइ थियो । मुलुकको वातावरण बिगार्न धेरै लागेकाले तिनलाई कारबाही नगर्ने हो भने यो देश कहिल्यै उँभो नलाग्ने पनि उनले बताइन् ।

कार्कीले भनिन्, ‘दण्डहीनतालाई प्रश्रय दिए राम्रो हुँदैन । यसपालि त्यस्तो हुनु हुँदैन । निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै पनि मारिएका छन् । यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ । हामी चुनावमा पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका छौँ । तपाईँहरू पनि स्वच्छ चुनावका लागि मितव्ययी ढंगले लाग्नुहोस् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *