चुनावी प्रतिस्पर्धाका लागि निर्वाचन आयोगमा ११९ वटा दलको निवेदन

Thankot Times

थानकोट ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा उत्रन ११९ दल तयार देखिएका छन् ।

निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराउने समयसीमा आइतबार सकिँदासम्म ११९ दलबाट १२० वटा निवेदन परेको छ । 

निर्वाचन आयोगका अनुसार १४ दलबाट दुई वा त्यसभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेका छन् । तिनैमध्येका ९ दलले छुट्टाछुट्टै निवेदन पनि आयोगमा बुझाएका छन् । त्यसबाहेक एक्लै चुनाव लड्ने गरी १०५ दलबाट प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन आएको आयोगले जनाएको छ ।

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै १४ दल आफूलाई जनतामा परीक्षण गराउन तयार देखिएका छन् । पुराना राजनीतिक शक्तिलाई चुनौती दिन एक महिनायता मात्र दर्ता भएका २५ दल पनि अघि सरेका छन् । त्यसबाहेक आयोगमा दर्ता रहेका अन्य दल पनि चुनावमा जाने तयारीमा छन् ।

निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या भने १४३ पुगेको छ ।

आयोगमा दर्ता भएका दलहरूले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन छुट्टै दल दर्ता गर्नुपर्छ ।

त्यसका लागि १ मंसिरदेखि आइतबारसम्म समय तोकिएको थियो । निवेदनमाथि छानबिन गरेर आयोगले २० मंसिरमा दलहरूको अन्तिम सूची तयार गर्नेछ । नामावली राजपत्रमा प्रकाशन गरिनेछ ।

दर्ता किताबमा सूचीकृत दलहरूले मात्र आगामी निर्वाचनमा भाग लिन पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *