नेपाल प्रिमियर लिग-२०२५: पोखरा १३ रनले पराजित, काठमाडौं ‘प्लेअफ’ मा

Thankot Times

थानकोट ।

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजसँग १३ रनले पराजित भएको छ।

यो सानदार जितसँगै काठमाडौं गोर्खाज प्रतियोगिताको ‘प्लेअफ’ मा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १५२ रनमा अलआउट भयो।

लक्ष्य पछ्याउने क्रममा ५५ रनमै ४ विकेट गुमाएर दबाबमा परेको पोखरालाई ऋषि धवन र धनञ्जय लक्षणले खेलमा फर्काएका थिए। यी दुईबीच पाँचौँ विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो।

ऋषि धवनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले भने धनञ्जयले ३० रन बनाए। १६ ओभरमा १३१–४ को अवस्थामा रहेको पोखरा जिततर्फ अग्रसर देखिएको थियो।

तर, १७औं ओभरको दोस्रो बलमा धनञ्जय आउट भएपछि पोखराको इनिङ धराशायी बन्यो। अन्तिम २१ रन जोड्दा पोखराले बाँकी ६ विकेट गुमायो।

ओपनर कुशल भुर्तेलले २२ र जेसन रोयले १६ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।

काठमाडौंलाई जिताउन स्पिनर शाहब आलमले एक्लै ६ विकेट लिएर पोखराको ब्याटिङ लाइन ध्वस्त पारे। उनले ४ ओभरमा २५ रन मात्र खर्चेर ६ महत्त्वपूर्ण विकेट लिए।

यो एनपीएलकै उत्कृष्ट स्पेलमध्ये एक हो। यस्तै, करण केसी र सनी पटेलले २–२ विकेट लिएर जित सुनिश्चित गरे।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले खराब सुरुवातका बाबजुद ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। १३.३ ओभरमा ७९–५ को नाजुक अवस्थाबाट बेन चार्ल्सवर्थ र भीम सार्कीले टोलीलाई उकासेका थिए।

भीम सार्कीले १९ बलमै अर्धशतक पूरा गर्दै २३ बलमा ५५ रन बनाए। ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ६४ रनको जिम्मेवारीपूर्ण इनिङ खेले। पोखराका धनञ्जय लक्षणले ४ विकेट र कुशल भुर्तेलले २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

यो जितपछि काठमाडौं गोर्खाजले अघिल्लो चरणको यात्रा पक्का गरेको छ भने पोखरा एभेन्जर्सका लागि आगामी यात्रा कठिन बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *