आजदेखि काठमाडौंमा साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदै
थानकोट ।
काठमाडौंमा आज शुक्रबार (मंसिर १९)देखि साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदै छ ।
त्रिपुरेश्वसरस्थित दशरथ रंगशालामा हुने यो प्रतियोगितामा दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा आबद्ध सात देशमध्ये पाँच देशका टिमको सहभागिता छ ।
प्रतियोगितामा नेपालको विभागीय टोली एपीएफ, भारतको इस्ट बंगला, पाकिस्तानको कराची एफसी, बंगलादेश नस्रिन स्पार्ट्स एकेडेमी र भुटान ट्रान्सफोर्ट युनाइटेड लेडिज एफसी गरी पाँच क्लबको सहभागिता छ । यसमा श्रीलंका र माल्दिभ्सका क्लब भने सहभागी भएका छैनन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा नेपाल, भुटान, पाकिस्तान र बंगलादेशका कप्तान तथा प्रशिक्षकले आ–आफ्नो दाबी राखे । भारतका कप्तान र प्रशिक्षक भने दिल्लीबाट नेपाल आउने फ्लाइट डिले हुँदा पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार दिउँसो २ बजे पाकिस्तानको कराची एफसी र भुटानको ट्रान्सफोर्ट एफसीबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, सोही दिनको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमीसँग खेल्ने तालिका छ । यो खेल साँझ ६ बजेदेखि सुरु हुनेछ । शुक्रबारदेखि सुरु हुने प्रतियोगिता डिसेम्बर २० सम्म सञ्चालन हुनेछ ।












