साफ क्लब महिला च्याम्पियनसिप : नेपाल एपीएफ र ट्रान्सपोर्टले अंक बाँडे

Thankot Times

थानकोट ।

साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले अंक बाँडेका छन् ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्याम्पियनसिपअन्तर्गत सम्पन्न खेलमा एपीएफ र ट्रान्सपोर्टबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको हो ।

खेलमा घरेलु टोली एपीएफले थुप्रै अवसर सृजना गरे पनि गोलमा भने परिणत गर्न सकेन । १६औँ मिनेटमा सरु लिम्बुले सुनौलो अवसर गुमाइन् । सरुले टोलीकी अनिता बस्नेतको पासमा पेनाल्टी बक्स नजिकबाट गरेको प्रहारले दिशा लिन नसक्दा पोस्टबाट बाहिरिएको थियो ।

३१औँ मिनेटमा एपीएफी अनिता बस्नेत गोल गर्नबाट चुकिन् । उनको फ्रिकिक प्रहार पोस्टको क्रसबारमा ठोक्किएर मैदानतर्फ फर्किएको थियो । भुटानकी डेकी ल्हाजोमले एपीएफकी रेनुका नगरकोटीमाथि फाउल गरेपछि एपीएफले फ्रिकिक अवसर पाएको थियो ।

६७औँ मिनेटमा ट्रान्सपोर्टकी गोलकिपर संगीता मोंग्लेरले टिमलाई अग्रता व्यहोर्नबाट जोगाइन् । उनले एपीएफकी सरुको प्रहार ‘पन्च’ गर्दै निष्क्रिय बनाएकी थिइन् । योसँगै एपीएफ प्रतियोगितामा पहिलो बराबरी गरेको छ । एपीएफले पहिलो खेलमा नस्रिनलाई ४–० ले हराएको थियो बराबरीसँगै एपीएफले तालिकामा चार अंक जोडेको छ ।

ट्रान्सपोर्टको भने यो दोस्रो बराबरी हो ।

यसअघि ट्रान्सपोर्टले पहिलो खेलमा कराचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बंगालसँग ४–० को हार व्यहोरेको हो ।

बराबरीसँगै ट्रान्सपोर्टले तालिकामा फाइनल छनोट कायम राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *