वुमन्स टी-२० विश्वकप ग्लोबल क्वालिफायर्सका लागि नेपाली टोलीको छनोट जारी
थानकोट ।
विश्व क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) वुमन्स टी २० विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणबाट ६ खेलाडी बाहिरिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक विज्ञप्ति जारी गर्दै ६ खेलाडी घटुवा गर्दै बन्द प्रशिक्षणको दोस्रो चरणको निम्ति २० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

यसअघि क्यानले पुस २ गते क्वालिफायर्सको निम्ति २६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरूमा रिया शर्मा, अलिसा यादव, मनिषा साउद, सिमाना केसी, अनु कडायत र किरण कुँवर छन् ।
नेपाल क्वालिफायर्सको आयोजक राष्ट्र समेत हो । प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो र तल्लो क्रिकेट मैदानमा पुस २८ देखि माघ १८ गतेसम्म हुनेछ ।
प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । क्वालिफायर्सको समूह ‘ए’ मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, संयुक्त राज्य अमेरिका र जिम्बावे रहेको छ । त्यसैगरी, समूह ‘बी’ मा नेपालसँगै थाइल्यान्ड, नामिबिया, पपु न्यू गिनिया र नेदरल्यान्ड छन् ।
यी हुन् बोलाइएका खेलाडीहरू : इन्दु बर्मा, रुविना क्षेत्री, सीताराना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरि, साना प्रविण, इश्वरी विष्ट, रोमा थापा, सेनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुबी पोदार, पुजा महतो













