सानुमायासहित १४ जना नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान
थानकोट ।
नेपाल ओलम्पिक कमिटिले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने १४ जना नेपाली खेलाडीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।
नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटी र छात्रवृति पाउने खेलाडी तथा सम्बन्धित खेल सङ्घका अध्यक्ष एवं महासचिवबीच ओलम्पिक छात्रवृतिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि आठ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस विधामा छात्रवृति प्राप्त गर्ने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोट्र्स क्लाइम्बिङका तेन्जिङ राई र पौडीका अर्विन श्रेष्ठ रहेका छन् ।
यो छात्रवृतिअन्तर्गत प्रत्येक खेलाडीले एक हजार १२५ अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी जापानको आयची नागोयामा हुने एसियन गेम्स २०२६ का लागि पाँच जना खेलाडीले छात्रवृति पाएका छन् । यसमा आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, उसुकी सुष्मिता तामाङ र करातेकी एरिका गुरुङ तथा सानुमाया थिङ छन् । उनीहरूले जनही मासिक रु ५० हजार प्राप्त गर्नेछन् ।
सेनेगलमा हुने डकार वल्र्ड युथ गेम्स २०२६ का लागि भने एक जना महिला खेलाडी छनोट भएकी छन् । यसमा उसुकी रश्मी तामाङ छिन् ।
उनलाई समान ५० हजार छात्रवृत्ति प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले छात्रवृत्रि पाउने खेलाडीलाई बधाई प्रदान गर्दै खेल सङ्घका पदाधिकारीसँगको विशेष छलफलबाट नेपालको उत्कृष्ट खेलाडी छनोट गरेको बताए । उनले हिजोको सरकारबाट जे जस्तो भए पनि आगामी दिनमा सरकारले नीति नियममा रहेर काम गर्ने वातावरण सृजना गरिदिने विश्वास व्यक्त गरे ।













